logo
२०८१ जेष्ठ ४ शुक्रवार



सुत्केरीको हवाई उद्धार

भिडियो |


सुत्केरीको हवाई उद्धार


काठमाडौँ, असार १२ गते । सल्यान जिल्लाको वनगाडा कुभिण्डे नगरपालिका–८ बस्ने गर्भ खेर गएकी मोती परियारलाई हवाई उद्धार गरी उपचारका लागि राजधानी ल्याइएको छ । उहाँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गर्भवती अवस्थामा लडेका कारण सुत्केरी हुने अनुमानित समयभन्दा तीन साताअघि सोमबार परियारको घरमै मृत शिशु जन्मिएको थियो ।

रक्तस्रावलगायतका समस्याले बेहोस भएकी परियारको सल्यान जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुर्खेत जिल्ला अस्पताल पु¥याइएको थियो । सुत्केरीको होस नखुलेर ज्यान जोखिममा परेपछि सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाईसँग समन्वय गरेर परियारलाई राजधानी उपचारका पठाइएको जानकारी दिनुभयो ।

सत्र वर्षको कलिलो उमेरमा गर्भवती भएकी परियारको बच्चा बचाउन नसके पनि आमाको ज्यान बचाउने लक्ष्यसहित हवाई उद्धार गरी प्रसूतिगृह ल्याइएकोे सो एकाई प्रमुख अञ्जु ढुङ्गानाले बताउनुभयो । परियारका पति प्रेमबहादुर परियारले बच्चा नबाँचे पनि आमाको ज्यान बच्ने आशा व्यक्त गर्नुभयो । यसका लागि सहयोग गर्ने सबैप्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘गर्भवती भएदेखि नै गाउँकै स्वास्थ्य चौकीमा नियमित जाँच गराएका थियौँ । भिडियो एक्स रे गराउन जिल्ला अस्पताल गएका थियौँ । स्वास्थ्यकर्मीले असार २७ गते बच्चा जन्मिने अनुमानित समय दिनुभएको थियो तर लडेका कारण समयभन्दा अगाडि मृत बच्चा जन्मिएपछि समस्या भयो । ’’

गत वर्षको मङ्सिर महिनादेखि सुरु यस कार्यक्रममार्फत २४ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भइसकेको छ । हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरेर अस्पताल पु¥याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि गत वर्ष २०७५ असोज ३० मा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धारसम्बन्धी कार्यविधि पारित भएको थियो ।

गत वर्षदेखि सञ्चालित कार्यक्रम प्रभावकारी भएकाले आर्थिक वर्ष २०७५/७६ मा पनि थप प्रभावकारी बनाई कार्यान्वयन गर्न सो मन्त्रालयले बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
हाल सो कार्यविधिअनुसार दार्चुला, बैतडी, मुगु डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, म्याग्दी, ताप्लेजुङ, रसुवा, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, रोल्पा, सल्यान, रूकुमपूर्व र रूकुमपश्चिम जिल्लाका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?