logo
२०८१ बैशाख ८ शनिवार



रूसमा समको साहित्यिक छवि

शनिवार |


रूसमा समको साहित्यिक छवि


 कृष्णप्रकाश श्रेष्ठ

मैले रूसमा अध्ययनार्थ आउनुभन्दा पहिले नै काठमाडौँमा नेपालका एक मूर्धन्य विद्वान् कवि, नाटककार, चित्रकार, दार्शनिक बालकृष्ण समलाई कैयौँपटक भेट्ने अवसर पाएको थिएँ । लैनचौरस्थित शान्ति विद्यागृहमा पढ्दाखेरी म पकनाजोल (साउनेपाटी) मा बसेको थिएँ । म बसेको घरको झ्यालमुन्तिरैबाट काठमाडौँमा त्यतिखेर भएको एकमात्र दुईजनाले चलाउने साइकलमा पछिल्तिर एकजना पाइडल चलाएर बसेको मान्छेसहित अघिल्तिर सवार भई अघिल्लो पाइडलसमेत चलाएर खास नेपाली पोसाकधारी मान्छे बसेको देखिन्थ्यो । माथिल्लो मोटो तनो बान्की पारेर बाँधिएको लबेदा–सुरुवाल लगाउनुभएका उहाँ नै बालकृष्ण सम हुनुहुन्थ्यो र साइकलमा खुरुरुरु गुडेर जाने गरेको कैयौँपटक देखेको थिएँ । एकपटक तीनधारा पाठशालानेर एउटा कवि सम्मेलन हो कि अरू नै कुनै आमसभा हो, त्यसमा भाग लिन सँगसँगै हिँडेर आएका बयोवृद्ध कवि शिरोमणि लेखनाथ पौड्याल र नाटककार बालकृष्ण समलाई आफ्नै बगलबाट जाँदै गरेको देख्नेसमेत मौका मिलेको थियो । स्कुलमा र पछि त्रि–चन्द्र कलेजमा अध्ययन गर्दासमेत उहाँका कृतिहरू पढिएको र उहाँका बारेमा काठमाडौँमा हुने चर्चा सुनेको भए पनि प्रत्यक्ष कुराकानी गर्ने त आँट नै भएनथ्यो । मैले नेपालका अन्य कतिपय लेखक–कविहरूलाई जस्तै उहाँलाई पनि मस्कोमा भेट्ने सम्भावना पाइनँ, यद्यपि रूसमा आएपछि रसियालीहरूद्वारा उहाँका बारेमा खिचिएको वृत्तचित्र भने मस्कोको सिनेमाहलमा हेर्ने सौभाग्य पाएको थिएँ । जेहोस्, उहाँको साहित्यिक कृतित्वको रसास्वादन गर्नुका साथै सौम्य बाह्य छवि पनि मेरो मानसपटलमा कहिल्यै नमेटिनेगरी अङ्कित छ ।


आजभन्दा ठीक ६५ वर्षपहिले सन् १९५३ मै रूस (तत्कालीन सोभियत सङ्घ) को राजधानी मस्को पुग्ने पहिला तीनजना लब्धप्रतिष्ठित नेपाली स्रष्टाहरूमध्ये बालकृष्ण सम पनि एकजना हुनुहुन्थ्यो । त्यसै वर्ष रुमानियामा सम्पन्न भएको चतुर्थ विश्व युवा सम्मेलनमा भाग लिन पूर्णबहादुर एमएको नेतृत्वमा आएको दस सदस्यीय प्रतिनिधिमण्डलमा बालकृष्ण समका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ पनि हुनुहुन्थ्यो । बुखारेस्टमा सम्पन्न भएको सम्मेलनमा भाग लिनेक्रममा सोभियत रूसको राजधानी पुगेका र ९ देखि १२ सेप्टेम्बरसम्म तीन÷चार दिन मस्कोमा घुम्ने अवसर पाउनुभएका लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठप्रभृत्तिको कलमबाट निःसृत कविताको चिनो रूसमा पाइएको छैन । यद्यपि, निःसन्देह नै हाम्रा कविहरूको कलमबाट कुनै गद्यात्मक वा कवितात्मक कृति अवश्य निःसृत भएको हुनुपर्छ । लक्ष्मीप्रसाद देवकोटाले त त्यतिखेर डायरी नै लेख्ने जमर्को गरेको पाइएको छ । बालकृष्ण समले चाहिँ त्यतिखेर नै मस्कोमा आफ्नो चिनो छोडेर गएको पत्ता लागेको छ । रूसको बसाइकालमा उहाँले उक्त विश्व–सम्मेलनको सन्दर्भमा मस्कोमा रचना गरेको कविता ‘मेरो मन उड्छ बुखारेस्टतिर’ भन्ने शीर्षकमा त्यसैबेला रूसी भाषामा अनुवाद भई ‘अक्टोबर’ (इस्वी संवत् १९५३, पुस्तक १२, पृ. ४) साहित्यिक पत्रिकामा छापिएको थियो । त्यसै समयमा यो कविता मस्कोमा लेखिएको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । मस्कोमा प्रथम प्रकाशनको चार वर्षपछि पुनः त्यही कविता राजकीय ललित साहित्य प्रकाशन गृहबाट ‘एसियाली कविहरू’ शीर्षकमा प्रकाशमा ल्याइएको कवितासङ्ग्रह (इसं १९५७, पृ. ७२४–७२५) मा पनि समावेश गरिएको थियो । त्यतिन्जेलसम्म रूसी भाषामा प्रकाशित नेपाली कविता यही एउटैमात्र थियो भन्ने यस तथ्यबाट पनि छर्लङ्ग हुन्छ । केही वर्षअघि यसै पङ्तिकारद्वारा रूसी भाषाबाट नेपालीमा अनूदित उक्त यस्तो छ ः 
नेपालबाट, पुर्खाको सुदूरदेशबाट त्यो
टाढाको नगरीतर्पm निकै चहलपूर्णको 
बुखारेस्टतिरै मेरो मन उडेर जान्छ यो
अनि उत्सवमा भाग लिन्छ नेपालबाट यो ।

मञ्चमा उभिई गीत त्यहाँ गाउँछ यो मन
नाट्य–प्रासादमा नाच्दै गर्छ क्यै क्षण रञ्जन
अनि पौडी पनि खेल्छ त्यहाँ कृत्रिम तालमा
युवाहरूसँगै चाल्छ पाइला पनि लाममा ।

मेरो यो मनले खोल्छ रहस्य अब भित्रकैः
आत्मीय प्रेमको नापतौल सम्भव छैन है !
र प्रेम गर्नुको अर्थ–सिर्जना गर्नु नै त हो,
सुखी जीवनमा आस्था भित्री हृदयदेखिको ।

अनि तात्पर्य के होला मैत्री सम्बन्ध जोड्नुको–
सम्पूर्ण जातिका निम्ति सुखको द्वार खोल्नु हो । 
तात्पर्य हो– दुःखदैन्यहरूबाट बचाउनू ।
दुःखमा दिलका निम्ति दिल नै प्रेमले दिनू ।

र आफ्नो मित्रका साथ मिलेर अघि लम्कनू,
सम्पूर्ण लोकका निम्ति उज्यालो दिन ल्याउनू ।
अहिले मनले मेरो चाहन्छ भन्न वाक्य यो ः 
युगानुयुगसम्मै होस् रक्षा शान्ति र मैत्रीको !! 
(अनुवाद कृष्णप्रकाश श्रेष्ठ, १३.०१.२०१४, मस्को, रूस महासङ्घ । बालकृष्ण सम, मेरो मन उड्छ बुखारेस्टतिर 
(कविता) । अक्टोबर, खण्ड १२, इसं १९५३, पृ. ४ । एसियाली कविहरू (कवितासङ्ग्रह), राजकीय ललित साहित्य प्रकाशन गृह, मस्को, इसं १९५७, पृ. ७२४ ः ७२५) । 
बालकृष्ण समले बुखारेस्टको यात्रापछि पनि सोभियत सङ्घको भ्रमण गर्नुभएको थियो । सन् १९६० को दशकमा म अध्ययनका लागि मस्को आउँदा यहाँका सिनेमाहलहरूमा मूल सिनेमाको प्रदर्शनपूर्व देखाइने टेलर भनिने वृत्तचित्रका रूपमा बालकृष्ण समको रूस यात्राबारे छोटो फिल्म देखाइएको मैले पनि हेर्ने अवसर पाएको थिएँ । यस्तै रूस यात्राक्रममा उहाँले ‘लेनिन समाधिनेर चिन्तन’ शीर्षकमा लेखिएको कविताको रूसी अनुवाद तासकन्द (उज्बेकिस्तानको राजधानी) बाट प्रकाशित ‘भ्ला.इ. लेनिनप्रति समर्पित एसिया र अफ्रिकाका कविहरूका कविता’ (इसं १९७०, पृ. १०६–१०८) भन्ने सङ्ग्रहमा प्रकाशित भएको छ । नेपालीमा ‘विश्वमानव लेनिन’ शीर्षकका उक्त कविता अनुवाद गरिएको छ ः
हेर !
एक ज्योति
चम्किलो भएर सुतिरहेछ
निश्चल,
तर यसका किरणहरू पैmलिरहेछन्
विस्तीर्ण भएर ...!
...लेनिन,
सत्यतासितै रहू !
तिमी–
निराशहरूका आशा थियौ
निस्सहायहरूका सहायक
निर्बल टुहुराहरूका पिता
सहनशीलहरूका शक्ति
मूकहरूका वचन तथा बहिराहरूका कान,
ऐश्वर्यले उन्मत्त भएका अन्धाहरूका नयन !
तिमी– 
पद दलितहरूका उद्धारक,
दरिद्र निमित्तका दानस्वरूप तिमीले
प्रत्येक वञ्चितका लागि द्वार खोल्यौ ...!

लेनिन !
तिम्रो दृष्टि स्वच्छ थियो...
निर्मल आकाशजस्तै,
तसर्थ, माथिका स्वर्गले तिमीलाई छल्न सकेनन्
आकर्षित गर्न सकेनन्,
किनभने तिम्रै विश्वास थियो
वास्तविकतामा ।
ताराहरूले शान गरेको उज्यालोको
तिमीले वास्ता गरेनौ,
कल्पनाहरू
रचना गरेर
परलोकको
सपना देखेनौ,
पुराना दन्त्यकथामा पनि
तिमीले ध्यान दिएनौ ।
तिमीले प्रेम ग¥यौ
यही खँदिली–खँदिली
पृथ्वी मातालाई,
त्यसैले तिमीलाई विश्राम गर्न आफ्नो काख दिइन्
अनि तिमी पनि
अन्त कतै जान मरेनौ !
तिमी शतवार्षिकी दीपज्योति हौ
त्यो विशाल गौरवान्वित चिहानमा
सदैव बलिरहने
जहाँ तिमीसित सास फेर्न र सहानुभव गर्न
प्रतिदिन धैरै जीवन जम्मा हुन्छन्,
त्यसैले तिमीलाई लिएर जान
मृत्यु त्यहाँ कहिल्यै छिर्न सक्तैन ।
(बालकृष्ण सम, लेनिन–समाधिनेरको चिन्तन, रासज्मश्लेनिया उ माब्जोलेया) । एसिया र अफ्रिकाका कविहरूको लेनिनप्रति समर्पित कविता, तासकन्द, इसं १९७०. पृ. १०६–१०८) । यसै वर्ष २१ जनवरीका दिन अक्टोबर समाजवादी क्रान्ति (हाल रूसमा राजनीतिक परिवर्तन भन्न थालिएको छ) का नेता र सोभियत सङ्घका संस्थापकको देहान्त भएको पनि ९५ वर्ष पूरा भयो । तर, मस्कोको मुटु क्रेमलिनको पर्खालकै हाराहारी पैmलिएको लालमैदानमा रातो सिङ्गमर्मरबाट बनेको भव्य समाधिगृहमा उनको शव अद्यापि सुरक्षित राखिएको छ । र, देश–विदेशका पर्यटक लाम लागेर त्यसको अवलोकन गर्छन् । स्मरण रहोस्, बालकृष्ण सम लेनिनबाट निकै प्रभावित हुनुहुन्थ्यो भन्ने बुझिन्छ । मैले उहाँको कुचीबाट सिर्जित लेनिनको मुहारचित्र मस्को लालमैदाननेरै रहेको लेनिन सङ्ग्रहालयमा तीन दशकभन्दा केही पहिले सोभियतकालमै हेर्ने मौका पाएको थिएँ । यस चित्रबारे मेरो एउटा लेखसमेत ‘सोभियत भूमि’ मा प्रकाशित भएको थियो । हाल लेनिन सङ्ग्रहालयको विशाल भवन पनि लालमैदानमै अवस्थित इतिहाससम्बन्धी भव्य सङ्ग्रहालयमा समाविष्ट गरिएको छ ।
कविका रूपमा बालकृष्ण सम रूसमा केही हदसम्म परिचित हुनुहुन्छ भन्न सकिन्छ र रूसी भाषामा उहाँका यस आलेखमा प्रस्तुत उपरोक्त दुई कविताका अतिरिक्त सोभियतकालमा प्रकाशित नेपाली काव्यका दुई सङ्ग्रहमध्ये ‘नेपालका कविहरू’ (तासकन्द, सन् १९५८) शीर्षकको पहिलो सङ्ग्रहमा ‘यस्तो जीवन’ 
(पृ. ३३–३४) र ‘काव्य र चित्र’ (पृ. ३५–३६) दुई कविता तथा ‘नेपाली कविका कविताहरू’ (मस्को, सन् १९६२) शीर्षकको दोस्रो सङ्ग्रहमा ‘स्वागत छ’ (पृ. ८०–८१), ‘तिमी जिउँदै छ्यौ’ (पृ. ८१–८३), ‘तथास्तु’ (पृ. ८३–८६) र ‘म मान्छेलाई माया गर्छु’ (पृ. ८६–८७) शीर्षकका चार कवितामात्र प्रकाशित छन् । विश्वकै एक सम्पन्न भाषा मानिने र संयुक्त राष्ट्रसङ्घको पाँचमध्ये एक औपचारिक माध्यम भाषा रहेको रूसी भाषामा बालकृष्ण समजस्ता विख्यात कविको व्यापक कृतित्वको नगन्यमात्र सिर्जना प्रकाशित हुनु दुःखद कुरा हो । यद्यपि, रूसी भाषामा नेपाली साहित्यको सङ्क्षिप्त परिचय दिने र समालोचनात्मक अध्ययन प्रस्तुत गरिने केही पुस्तकमा बालकृष्ण समको कृतित्वको उच्च मूल्याङ्कन गरिएको पाइन्छ । सोभियत सङ्घमा नेपाली साहित्यकी अध्येता विदुषी ल्युदमिला आगानिनाले ‘आधुनिक नेपाली काव्यमा मान्छे, समाज, धर्म’ (मस्को, इसं १९८५) शीर्षकको आफ्नो अन्तिम र प्रौढ समालोचनात्मक ग्रन्थमा बालकृष्ण सम (इसं १९०३–१९८०) र लक्ष्मीप्रसाद देवकोटा (इसं १९०९–१९५९) को कृतित्वको तुलना गर्दै यी दुई कविलाई ‘साहित्य सिर्जना र शैलीको दृष्टिले एक दोस्राका विषम ध्रुव’ भन्दै बालकृष्ण समको सन्दर्भमा अंशतः यस्तो निष्कर्षोक्ति व्यक्त गरेकी छन् ः ‘समका लागि काव्य विवेकसम्मत (मुख्यतः दार्शनिक) हुनुका साथै वास्तविकताको लाक्षणिक चित्रण पनि हो । तसर्थ, उनको काव्यलाई सवाक चिन्तन भन्न सकिन्छ होला । त्यसको प्रमुख उद्देश्य भन्नु नै आफ्नो धारणाको सत्यताप्रति तार्किक विश्वास उत्पन्न गर्नु हो । अतीतको काव्यशास्त्रप्रति उनको सम्मानपूर्ण सम्बन्ध पनि यसैसित सम्बन्धित छ, यद्यपि उनलाई अन्ततोगत्वा स्वच्छन्द कवितातर्पm पूर्ण रूपले संलग्न हुनमा पनि यसले कुनै बाधा उत्पन्न गरेन...’ (पृ. ७) । 
निष्कर्षमा के भन्न सकिन्छ भने नेपालका एक साहित्यिक हस्तीका रूपमा रहेका बालकृष्ण समको बहुआयामिक छवि रूसमा पनि जाज्वल्यमान नै रहेको छ । रूसीलगायत विश्वका विभिन्न प्रमुख भाषामा उहाँका केही प्रतिनिधि कृतिहरूको अनुवाद गरेर उहाँको छविलाई विश्वव्यापी रूपमा चहकिलो पार्दै लैजानु हामी सबैको दायित्व हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?