logo
२०८१ बैशाख १३ बिहीवार



योगको ‘सफ्ट पावर’

विचार/दृष्टिकोण |




नवीन सुवेदी

वैदेशिक नीतिमा ‘नरम शक्ति’ अर्थात् ‘सफ्ट पावर’ को प्रयोगको चर्चा सन् १९९० को दशकदेखि सुरु भएको मानिन्छ । हार्वड विश्वविद्यालयका राजनीतिशास्त्री जोसेफ न्येले नरम शक्तिको सिद्धान्तलाई स्थापित गराउनुभएको हो । कुनै पनि देशले दबाबरहित प्रभावले अन्य देशबाट आफ्नो निर्दिष्ट लक्ष्य प्राप्त गर्न सक्ने अवस्थालाई न्येले नरम शक्तिका रूपमा परिभाषित गर्नुभएको छ । 
सेना र अर्थतन्त्रले कडा शक्ति अर्थात् ‘हार्ड पावर’ जनाउने र धर्म÷संस्कृति, राजनीतिक व्यवस्थाले वैदेशिक नीति सञ्चालनमा नरम पक्षलाई जनाउने उहाँको मत छ । शक्ति राष्ट्रले यी दुवैप्रकारको शक्ति हासिल गर्न र त्यसको प्रयोगमा पारङ्गत हुनुपर्ने मत न्येको छ । उहाँले प्रतिपादन गरेको नरम शक्तिको सिद्धान्त कालान्तरमा अन्तर्राष्ट्रिय सम्बन्धमा एक अलिखित नियमका रूपमा स्थापित भएको छ । 
नरम शक्तिको सिद्धान्तको जन्म खास समयसन्र्दभमा भएको थियो, जुन बेला अमेरिकी अपवाद अर्थात् ‘अमेरिकन एक्सेप्सनालिज्म’ र अमेरिकी अवसादवाद अर्थात् ‘अमेरिकन डिक्लानिज्म’ को भिन्न दुई मान्यता विश्व राजनीतिमा छलफलमा आएका थिए । अमेरिका एक शक्ति त हुँदै हो, त्यसमाथि निकै ठूलो नरम शक्ति पनि भएको राष्ट्र हो भन्ने न्येको तर्क छ । 
अमेरिकी दबदबालाई टिकाउन कडा शक्तिभन्दा पनि नरम शक्तिको ठूलो भूमिका छ भन्ने मत न्येको छ । हुन पनि नेपालमा घटेका कतिपय घटना, जस्तै, केही महिना अगाडि भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्ष प्रचण्डको प्रेस बक्तव्यलगत्तै नेपाली मिडिया र विश्लेषकहरू प्रचण्डको विज्ञप्तिले नेपालमा राजनीतिक प्रलय नै हुनेजस्तो कोकोहोलो मच्चाए, अमेरिकी सरकारको धारणा सार्वजनिक हुनुअगाडि नै । 
अमेरिकी राष्ट्रिय स्वार्थको चिन्ता राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भन्दा पनि केही मूलधारका भनिएका नेपाली पत्रकारलाई रहेकोजस्तो प्रतीत हुन्थ्यो । विनाकुनै लगानी नै अमेरिकाले आफ्नो स्वार्थ रक्षा गर्न सफल भयो, नेपालमा । यो अमेरिकी नरम शक्तिको एक ज्वलन्त दृष्टान्त हो । 
आफूलाई शक्ति राष्ट्रका रूपमा विकास गर्दै लगेको भारत पनि वैदेशिक नीतिमा नरम शक्तिको आवश्यकता र प्रयोगबारे बेखबर छैन । भारतीय राजनीतिक वृत्तमा सम्भवतः नरम शक्तिको विकास, विस्तार र प्रदर्शनको प्रखर प्रवक्ता शशी थरुर हुनुहुन्छ । भारत आफैँमा सभ्यतामा आधारित देश ‘सिभिलाइजेसनल स्टेट’ भएको उहाँको मत छ । यसलाई पुष्टि गर्न थरुर हिन्दु, मुस्लिम, इसाई, शिख, कौद्ध र जैनजस्ता विश्वका प्रमुख धार्मिक मान्यता र परम्पराको उद्गम वा विकासक्रममा प्रमुख भूमिका खेलेका कारणले गर्दा भारतको नरम शक्ति प्रचुर छ भन्ने जिकिर बारम्बार गर्नुहुन्छ । 
अन्तर्राष्ट्रिय सम्बन्धमा भने योग, बलिउड चलचित्र र सङ्गीत, भारतीय लोकतान्त्रिक व्यवस्था र अङ्ग्रेजी साक्षर जनसङ्ख्यालाई भारतीय वैदेशिक नीतिको प्रखर नरम शक्तिका रूपमा व्याख्या र विश्लेषण गरिन्छ । हुन त जवाहरलाल नेहरू पनि भारत सभ्यतामा आधारित देश भएकोबारे निकै विश्वस्त हुनुहुन्थ्यो । भारतीय विदेश नीतिका मार्गदर्शन सिद्धान्त पञ्चशील र असंलग्न हुने र त्यो नै भारतको अन्तर्राष्ट्रिय सम्बन्धमा सबैभन्दा ठूलो नैतिक शक्ति भएकोमा विश्वस्त हुनुहुन्थ्यो । तर, चीनसँगको सीमायुद्धले भारतीय नरमशक्तिको कमजोरी सतहमा ल्यायो । थरुरकै भाषामा नेहरूकालीन विदेश नीति ‘धेरै बोल्ने तर कसैलाई केही दिन नसक्ने’ ज्यादै कमजोर नरम शक्ति भएको कथन छ । 
भारतीय रणनीतिमा थरुरको यो भनाइ र उहाँले देखाउन खोजेको नरम शक्ति प्रदर्शनको बाटोको खास अर्थ राख्छ । भारत अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै देशलाई आफूप्रति आकर्षित गर्न ‘नरम शक्ति’ को आकर्षणलाई कायमै राख्नका लागि आर्थिक र सैन्य शक्तिको सम्मिश्रणमा आधारित ‘वृहत् राष्ट्रिय शक्ति’ को निर्माण गर्न चाहन्छ । यसै सन्र्दभमा गत २१ जुनमा मनाइएको अन्तर्राष्ट्रिय योग दिवसलाई नरम शक्ति विकास गर्ने भारतको वृहत्तर दीर्घकालीन योजनाको पाटोका रूपमा पनि हेर्न सकिन्छ । 
सभ्यतामा आधारित मानिएको भारतको नरम शक्ति प्रक्षेपणमध्येको एउटा प्रमुख माध्यमका रूपमा योगलाई लिइएको छ । हिमवत्खण्डमा विकास भएको मानिएको योग र ध्यानले मानसिक र शारीरिक स्वास्थ्यमा पार्ने प्रभावबारे धेरै विधिवत् अध्ययन भएका छन् । साथै, आध्यात्मिक चेतनाको सम्पुष्टिका लागि पनि हिमवत्खण्डमा यसको व्यापक प्रयोग भएको थियो । यो हिन्दुकुश हिमालय क्षेत्रको उपज हो । यसमाथि अहिलेको भूराजनीतिक विभाजनले निर्मित सबै देशहरूको ऐतिहासिक स्वामित्व पनि छ । 
सन् २०१४ मा भारतले संयुक्त राष्ट्रसङ्घमा वर्षभरिमा सबैभन्दा लामो दिन ‘जुन २१’ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने प्रस्ताव राखेको थियो । राष्ट्रसङ्घका अत्यधिक सदस्यले यो प्रस्ताव पारित गरे र सन् २०१५ देखि यो दिवस संयुक्त राष्ट्रसङ्घको व्यानरमा मनाउन थालिएको छ । विश्वभरि स्वास्थ सेवा महँगो र थेग्नै नसक्ने चापका कारणले गर्दा ‘रोगको रोकथामको भरपर्दाे उपायका’ का रूपमा राष्ट्रसङ्घका सदस्यले यसलाई विनाकुनै बहस अपनाएका हुन् । 
यो वर्षको अन्तर्राष्ट्रिय योग दिवसमा भारतीय सक्रियता रोचक थियो । सगरमाथाको आधार शिविरदेखि जानकी मन्दिरसम्म, प्रधानमन्त्री उपस्थित कार्यक्रमदेखि विद्यालयस्तरका कार्यक्रमसम्म भारतीय राजदूत वा दूतावासका अधिकारीहरू ‘योगरेडी’ पोसाकमा उपस्थित थिए । 
धभारतभित्र भएका कार्यक्रमहरू पनि कम रोचक थिएनन् । सीमा सुरक्षा बलदेखि सेनाका कुकुरसम्म सबै योगमुद्रामा लीन थिए । योग भनेको भारत र भारत भनेको योग भन्ने सन्देश भारतले दिन चाहिरहेको भान हुन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच आधिकारिक ट्वीटर ह्यान्डलमा ट्वीट र रिट्वीट नै चल्यो । 
यता, नेपालले केही वर्ष अगाडिदेखि नै हरेक वर्ष माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरेको छ । साथै बाल्य अवस्थादेखि नै यसको अभ्यासमा जोड दिँदै विद्यालय पाठ्यपुस्तकमा पनि योग र ध्यानलाई समावेश गरिँदै छ । त्यसैले हिमवत्खण्डमा विकास भएको यो योगसाधना विधिप्रति नेपालले पनि भारतको जस्तै स्वामित्व ग्रहण गर्न खोज्नु अनौठो होइन । 
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा दिनुभएका भाषण निकै अर्थपूूर्ण छ । प्रधानमन्त्री योग, ध्यान हिन्दु र बौद्धपरम्परासँग जोडिएका साँस्कृतिक सम्पदाको विभिन्न आयामबारे जानकार हुनुहुँदोरहेछ भन्ने यसले देखाउँछ । बौद्ध धर्मसँग सम्बन्धित तीन दिवस– बुद्धको जन्म, बुद्धको ज्ञान प्राप्ति र बुद्धको महापरिनिर्वाणलाई एउटै अन्तर्राष्ट्रिय ध्यान दिवसका रूपमा अगाडि बढाउन खोजिएको उहाँको भनाइबाट पुष्टि हुन्छ । तर, यी तीनै दिनको छुट्टाछुट्टै आफ्नो महŒव भएको र त्यसलाई एउटै अन्तर्राष्ट्रिय ध्यान दिवस बनाउन नसकिने विचार राख्नुभएको थियो । कसरी साँस्कृतिक विरासतलाई शक्ति आर्जन र प्रदर्शनको माध्यम बनाइन्छन् भन्ने दृष्टान्त प्रधानमन्त्रीको योग दिवसको मन्तव्यबाट पनि थाहा पाइन्छ । 
तर, योगजस्तै बौद्ध धर्म र संस्कृतिसँग सम्बन्धित विषयहरू, केबल भारतको मात्रै एकलौटी सम्पत्ति नभएको प्रधानमन्त्रीको भाषणमा बुझ्न सकिन्छ । बौद्ध धर्म र दर्शनमा भारतमात्रै नभएर, नेपाल, श्रीलङ्का, म्यानमार, भियतनाम, थाइल्यान्ड, कम्बोडिया र चीनलगायतका देशको पनि उत्तिकै स्वामित्व र दाबी रहेको छ । भविष्यमा पनि रहने नै छ । उदाहरणका लागि, आधुनिक भारतले गर्व गरेको विपश्यना ध्यान धेरै शताब्दीअघि भारतबाट विलुप्त भएको र त्यो म्यानमारमा संरक्षण गरिएको थियो । सन् १९७० को दशकामा सत्यनारायण गोयन्काले सो ध्यान विधि भारतमा पुनरागमन गर्नुभएको हो । 
योगलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै गर्दा यसबाट यसको पूर्ण स्वामित्व ग्रहण गर्न तम्सेको भारतले गणना गर्न सकिने र नसकिने दुवैप्रकारका फाइदा कति पायो भन्ने विषय पनि भविष्यमा प्रकाशमा आउने नै छ । नेपालले भने विश्वव्यापी रूपमा योगप्रतिको आकर्षणलाई आध्यात्मिक पर्यटनका रूपमा विकास र फाइदा लिन सक्छ । सरकारले यसमा धेरै ठूलो लगानी गर्न सक्ने अवस्था निःसन्देह पनि छैन । तर, निजी क्षेत्रका पर्यटन व्यवसायले यसलाई अगाडि बढाउन सक्ने सम्भावना छँदै छ । 
आखिर ठूूलो सरकारी लगानी गरिएको ‘नरम शक्ति’ को प्रदर्शनले आर्थिक र सामरिक लाभ दिन्छ नै भन्ने पनि छैन । अझ नेपालजस्तो साधन र स्रोतको कमी भएको देशले निजी लगानीको माध्यमबाट ‘नरम शक्ति’ प्रवद्र्धन गर्ने रणनीति एकदमै सही कदम पनि हो । आखिरमा दक्षिण एसियाली देशमध्ये पर्यटनको विकासमा नेपाली सरकारी योगदान नगन्य छ । 
योग र धर्मजस्ता सम्पूर्ण नरम शक्तिको विदेश नीति सञ्चालनमा सीमा हुन्छन् । योगको प्रचार गरेर भारतको प्रचार गरेको मानिँदैन । त्यस्तैगरी, हालैमात्र नेपाल हिन्दु राष्ट्र भएमा संसारभरिका हिन्दुको नैतिक शक्ति नेपालले प्राप्त गर्छ भन्ने भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका भनाइ दुवै अतिशयोक्तिमात्र हुन् । किनभने संवैधानिक रूपमा घोषित हिन्दु देश र हिन्दु राजा महेन्द्रले गरेको शासनको समय २०२७ साल र राजा वीरेन्द्रको शासनकाल २०४५ सालमा नेपालले करिब एक वर्ष लामो भारतीय आर्थिक नाकाबन्दी झेल्न बाध्य भएको इतिहास ताजै छ । 
सबैभन्दा महŒवपूर्ण, प्रधानमन्त्रीले ‘नजानेका कुरा केही पनि रहेनछ’ भन्दै आश्चर्य–चकित भएका देशको ठूलो भनिएको निजी पत्रिकाका प्रधानसम्पादकले योग दिवसका दिन प्रधानमन्त्रीले व्यक्त गर्नुभएको मन्तव्यलाई सूक्ष्म रूपले हेर्ने हो भने प्रधानमन्त्री साँच्चै नै अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसमाथि नरम शक्तिका जटिल आयामप्रति सजग हुनुहँुदोरहेछ भनेर कुनै दिन फेरि भन्ने पो हुन् कि ?

(लेखक अर्थराजनीतिक विश्लेषक हुनुहुन्छ । ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?