logo
२०८१ बैशाख १३ बिहीवार



एसईईको नियमित र प्राविधिकतर्फको नतिजा बिहीबार सार्वजनिक गरेको छ

राष्ट्रिय |


एसईईको नियमित र प्राविधिकतर्फको नतिजा बिहीबार सार्वजनिक गरेको छ


 

२०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित र प्राविधिकतर्फको नतिजा बिहीबार सार्वजनिक गरेको छ । परीक्षा सकिएको ८४औँ दिनमा परीक्षाफल सार्वजनिक गरिएको छ ।  परीक्षामा चार लाख ५९ हजार २७५ परीक्षार्थी सम्मिलित थिए । सार्वजनिक नतिजाअनुसार १७ हजार ५८० परीक्षार्थीले समग्र स्तरीकृत अङ्क (जीपीए) ३.६० देखि ४.० ल्याएका छन् । यो सबैभन्दा उच्च जीपीए हो । ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित हुन केही समय लाग्ने पनिकाले जनाएको छ । 
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षामा आठ हजार ४६९ परीक्षार्थी अयोग्य भएको र ५० परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी दिनुभयो । अनुपस्थित, परीक्षामा नक्कललगायतले अयोग्य तथा रद्द भएको जनाइको छ । सबैभन्दा बढी ९५ हजार ३०७ जना परीक्षार्थीले जीपीए १.६० देखि २.० ल्याएका छन् । 
गत चैत १० देखि २१ गतेसम्म परीक्षा सञ्चालन गरिएकोमा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा सञ्चालन गरिएको थियो । सो प्रदेशमा चैत २९ गतेसम्म परीक्षा सञ्चालन गर्नुपरेको थियो । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनिवार्य विषयमा विद्यार्थी निकै कमजोर रहेको बिहीबार सार्वजनिक नतिजाले पुनः पुष्टि गरेको छ । 
यी विषयहरूमा विद्यार्थीको थुप्रो डीदेखि सी ग्रेडसम्म रहेको पाइएको छ । अनिवार्य अङ्ग्रेजी विषयमा ए प्लस ल्याउने परीक्षार्थी १५ हजार ७६० छन्, जबकि परीक्षार्थीहरूको भीड सी ग्रेडमा रहेको छ । कुल ९५ हजार ९१ जनाले अनिवार्य अङ्ग्रेजी विषयमा सी ग्रेड ल्याएका छन् । 
यसैगरी, अनिवार्य नेपालीमा ए ग्रेड ल्याउनेहरू तीन हजार २१२ छन् भने सी प्लस एक लाख छ हजार ७६ जनाले ल्याउन सकेका छन् । अनिवार्य गणित विषयमा १० हजार ९५३ जनाले ए प्लस हासिल गर्न सफल भए भने एक लाख ७१ हजार २३१ परीक्षार्थीको भीड ई ग्रेडमा थुप्रिएको छ । अनिवार्य विज्ञान विषयमा ए प्लस ल्याउनेहरू १९ हजार ५६२ छन् भने ९० हजार ८९१ जनाले सी ग्रेडमा चित्त बुझाउनुपरेको छ । 
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार फलित ज्योतिषमा ए प्लस, ए र बी ल्याउन सक्ने परीक्षार्थी नै छैनन् । इतिहास, न्याय, साहित्य, शुक्ल यजुर्वेद, नीतिशास्त्र, भोट भाषा, आयुर्वेद, कर्मकाण्ड, नेवारी, गृहविज्ञानलगायतका विषयमा ए प्लस ल्याउने परीक्षार्थी शून्य छन् । 
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले सिकाइ तह कमजोर भएकाले नतिजा कमजोर देखिएको टिप्पणी गर्नुभयो । 
गत वर्षको एसईई परीक्षाको नतिजा उत्साहजनक नदेखिनुमा शिक्षक मुख्य जिम्मेवार रहेको ठान्नुहुन्छ शिक्षाविद् प्राडा विद्यानाथ कोइराला । “शिक्षकको अनुहार हेरौँ । ऊ जिम्मेवार छ कि छैन हेरौँ । उही शिक्षकलाई निजी स्कुलले घोटाउँछ, तर सामुदायिक स्कुलमा घोटाइँदैन” उहाँले भन्नुभयो, “सुरुमै ल्याकत नभएका शिक्षकलाई भर्ती गरेका छौँ । शिक्षकमा ल्याकतकै समस्या भएपछि नतिजामा सुधारको अपेक्षा गर्न सकिँदैन । ”
अर्का शिक्षाविद् डा. आनन्द पौडेलले शिक्षक र विद्यार्थी दुवै परीक्षामुखी हुँदा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिकाइ र पठनपाठनमा सुधार गर्न सकेनौँ । शिक्षकलाई परीक्षाका लागि मात्र तयार गर्न थाल्यौँ, यो पद्धतिको दोष हो । परीक्षालाई मात्र केन्द्रित गर्ने गरी कोचिङलाई प्राथमिकता दियौँ । ”
शिक्षाविद् डा. सदानन्द कँडेलले विगत १० वर्षदेखिका प्रश्नपत्रका आधारमा विद्यार्थीलाई तयार गर्ने प्रवृत्ति रहेको र त्यसले क्षमताभन्दा धोका दिएको उल्लेख गर्दै थप्नुभयो, “शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया नै हुनसकेको छैन । ”

निजीको नतिजा राम्रो
निजी विद्यालयको नतिजा तुलनात्मकरूपमा राम्रो देखिएको छ । २०७५ सालको एसईई परीक्षामा सामुदायिकका तीन लाख २५ हजार ३३० र निजीका एक लाख ३३ हजार ९४५ परीक्षार्थी सहभागी भएका थिए । सामुदायिकका दुई हजार ७९२ र निजीका १४ हजार ७८८ परीक्षार्थीले जीपीए ३.६० देखि ४.० ल्याएका छन् । सामुदायिकका परीक्षार्थीको भीड जीपीए १.६० देखि २.० मा देखिएको छ । त्यस ग्रेड समूहमा सामुदायिकका ९० हजार ४४५ परीक्षार्थी छन् जबकि निजीका चार हजार ८६२ परीक्षार्थी रहेका छन् । 
गत २०७४ सालमा पनि माथिल्लो जीपीए अर्थात् ३.६ देखि ४.० प्राप्त गर्ने सामुदायिकका दुई हजार ८१५ र निजीका १५ हजार ८६९ परीक्षार्थी थिए । त्यस वर्ष पनि सामुदायिकका परीक्षार्थीको ओइरो जीपीए २.० देखि २.४ मा थियो । त्यस ग्रेड समूहमा सामुदायिकका ९८ हजार ८६९ र निजीका सात हजार ९४६ परीक्षार्थी थिए । 
अब्बल प्रदेश ३
२०७५ सालको एसईई परीक्षाको नतिजाले अब्बल नतिजा प्रदेश ३ को रहेको देखाएको छ । सो प्रदेशमा नियमिततर्फ जीपीए ३.६ देखि ४.० ल्याउने परीक्षार्थी १० हजार ६८ छन् । 
सो ग्रेड समूहमा प्रदेश १ का एक हजार ९८४, प्रदेश २ का ९३१, गण्डकी प्रदेशका एक हजार ८१८, प्रदेश ५ का एक हजार ६८४, कर्णाली प्रदेशका १४६ र सुदूरपश्चिम प्रदेशका २५१ परीक्षार्थी छन् । प्राविधिकतर्फ सबैभन्दा कम अर्थात् जीपीए ०.८ देखि १.२ ल्याउने परीक्षार्थी शून्य छन् ।

ग्रेड वृद्धिको अवसर
२०७५ सालको एसईई परीक्षामा सहभागी भएका मध्ये एक लाख १५ हजारले ग्रेड वृद्धिको परीक्षा दिने अवसर पाउने भएका छन् । दुई विषयसम्म सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेकाहरूले ग्रेड वृद्धिको अवसर पाउने व्यवस्था छ । जीपीए १.६ भन्दा कम ल्याउने परीक्षार्थीले कक्षा ११ मा भर्ना नपाउने व्यवस्था भएकाले उनीहरूले माथिल्लो तहमा भर्ना हुन ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुनैपर्ने हुन्छ ।

सांसद र नायिका
गत वर्षको एसईई परीक्षामा प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले जीपीए २.६५ र नायिका करिश्मा मानन्धरले ३ जीपीए प्राप्त गर्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?